एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा आज साेमवार भएकाे खेलमा बङ्ग्लादेश र यूएई विजयी भएका छन् । दुबईएकाे आईसीसी एकेडेमी मैदान–२ मा भएकाे खेलमा बङ्ग्लादेशले जापानलाई ९ विकेटले हरायाे ।
जापानकाे दिएकाे १ सय रनकाे सामान्य लक्ष्य बङ्ग्लादेशले ११ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेटायाे । बङ्ग्लादेशका अशिकुर रहमान शिब्लीले नट आउट ५५ रन बनाए । बलिङतर्फ जापानका चार्ल्स हिन्जेले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे जापान ४७ ओभर १ बलमा ९९ रनमा अल आउट भयाे । जापानका निहार परमरले सर्वाधिक १८ रन बनाए । बलिङतर्फ बङ्ग्लादेशका महफुजुर रहमान रब्बी र अरिफुल इस्लामले समान २ विकेट लिए । याे जितसँगै बङ्ग्लादेश २ खेलमा ४ अङ्कसहित समूह ‘बी’ काे शीर्ष स्थानमा छ । जापान २ वटै खेलमा पराजित हुँदै तालिकाकाे पुछारमा छ ।
यस्तै आजै भएकाे अर्काे खेलमा यूएईले श्रीलङ्कामाथि २ विकेटकाे राेमाञ्चक जित निकालेकाे छ । श्रीलङ्काले दिएकाे २ सय २१ रनकाे लक्ष्य यूएईले ४८ ओभर २ बलमा ८ विकेट गुमाएर भेटायाे । यूएईका तनिश सुरीले ७५ रन बनाए । बलिङतर्फ श्रीलङ्काका गरुका सन्केथले ३ र विश्व लाहिरुले २ विकेट लिए ।
यसअघि दुबईकाे आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायाे । श्रीलङ्काका दिनुरा कालुपहनाले नट आउट ५६ रन बनाए । यस्तै कप्तान सिनिथ जयवर्देनाले ४९ रन जाेडे । बलिङतर्फ यूएईका ओमिद रेहमान र आयन अफजल खानले समान २ विकेट लिए । याे जितसँगै यूएई २ खेलमा २ अङ्कसहित समूह ‘बी’ काे तेस्राे स्थानमा छ । श्रीलङ्का २ खेलमा उति नै अङ्कसहित नेट रन रेटका आधारमा दाेस्राे स्थानमा छ ।