मकवानपुर । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन आजबाट बन्द भएको छ । वर्षौंदेखि घाटा व्यहोर्दै आएको उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा आजबाट उत्पादन बन्द भएको हो ।
आर्थिक संकटका कारण कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले जानकारी दिनुभयो । उद्योगलाई मासिक ३ हजार ६ सय मेट्रिक टन गुणस्तरीय कोइला आवश्यक पर्ने भएतापति आर्थिक संकटका कारण बाह्य मुलुकबाट पर्याप्त कोइला खरिद गर्न नसकिएका कारण पटक–पटक उत्पादन बन्द गर्नुपरेको महाप्रबन्धक पाण्डेले बताउनुभयो ।
उहाँले उद्योगको अवस्थाबारे संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री तथा सचिवसमेतलाई जानकारी गराइएको बताउनुभयो । उहाँले संघीय सरकारको तर्फबाट आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सहज हुने बताउनुभयो । ४ दशक पुरानो उद्योगमा मेसिनहरु जीर्ण हुँदै गएकोले साविक बमोजिम उत्पादन गर्न कठिनाई भएको र अर्कोतर्फ उत्पादिन सिमेन्टहरु सबै सहरहरुमा विक्री वितरण घट्न गएकोले उद्योग आर्थिक संकटमा परेको महाप्रबन्धक पाण्डेको भनाइ छ ।
विक्रम संवत् २०३३ सालमा एशियाली विकास बैंकको सहयोगमा १ अर्ब लगानीमा स्थापना भएको उद्योगले २०४३ साल मंसिर २६ गतेबाट व्यवसायिक रुपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो । हाल उद्योगमा ३९० जना कर्मचारी कार्यरत रहेका छन् ।