कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णालीका १० जिल्लामा ३४ हजार ६७१ बालबालिकामा पूर्ण खोप लगाइएपछि ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित बिहीकार ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको हाे ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोख्रेल, स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका महानिर्देशक सङ्गीता मिश्र, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काको उपस्थितिमा पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको छ । मन्त्री पोख्रेलले कर्णालीका सबै बालबालिकालाई अनिवार्य लगाइनुपर्ने सबै खोप लगाएपछि प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिएको जानकारी दिनुभयो । उहाँले खोप लगाउन छुटेकालाई पनि खोजी गरी लगाउन सुझाव दिनुभयो । पूर्ण खोपयुक्त अभियानमा महिला स्वयंसेविकादेखि डाक्टरसम्मको ठुलो योगदान भएको चर्चा गर्दै सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक सङ्गीता मिश्रले भौगोलिक अवस्थाले कठिन भए पनि प्रदेशलाई पूर्ण खोपयुक्त गर्न सफल हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ७२ जिल्ला पूर्ण खोपयुक्त जिल्ला र तीन वटा प्रदेश खोपयुक्त घोषणा गरिएको छ । स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले खोप लगाउन छुटेका बालबालिकालाई पनि खोजी गरेर खोप लगाइने बताउनुभयो ।
घोषणा कार्यक्रममा सुर्खेत जिल्ला समन्वय समिति प्रमुख गङ्गाराम सुनार, मुगु जिल्ला समन्वय प्रमुख मन्जन कार्कीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । कर्णालीमा सबैभन्दा पहिला २०७४ साल असार ४ गते दैलेखलाई खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । सबैभन्दा अन्तिममा डोल्पालाई असार १६ गते पूर्ण खोपयुक्त घोषणा गरेपछि बिहीबार प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको हो ।