सर्वोच्च अदालतले व्यक्ति हत्यामा दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सरकारसँग लिखित जवाफ माग गरेको छ । भारती मानन्धरको रिटमाथि सुनुवाइ गर्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं गृह मन्त्रालयलाई माफी दिनुको कारणसहित ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अग्राधिकारसहित असोज २५ गतेका लागि पेसीसमेत तोकेको छ । संविधान दिवसका दिन बाँकेका ‘गुन्डा नाइके’ रिगललाई कैद मिनाह गरेको भन्दै पीडित चेतन मानन्धरकी श्रीमती भारतीले सर्वोच्चमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं गृह मन्त्रालयविरुद्ध रिट दायर गरेकी थिइन् । साथै शर्माको इजलासले पीडित परिवारको सुरक्षा व्यवस्था गर्नसमेत आदेश दिएको छ ।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई सजाय माफी दिएका थिए । हत्यारालाई राष्ट्रपतिले माफी दिनु संविधानविपरीत भन्दै भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिगलले २०७२ असार २८ गते चेतनलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटेलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।