नेकपा एमाले गण्डकी प्रदेश अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । सोमबारदेखि पोखरामा जारी अधिवेशनअन्तर्गत नेतृत्वका लागि १६५ पदमा ३ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
२७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी पदमा पनि सहमतिको प्रयास जारी रहेकाले निर्वाचन प्रक्रियाका लागि समय अझै टुङ्गो लागेको छैन । यद्यपि बिहान १० बजेदेखि निर्वाचन गर्ने तयारी भइरहेको निर्वाचन मण्डलले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले आज कुनै पनि हालतमा नेतृत्व चयन प्रक्रिया सकिने दाबी गरेका छन् ।
गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षबीच प्रतिस्पर्धा हुने देखिएको हो ।​ उपमहासचिव गुरुङ पक्षबाट अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मीनप्रसाद गुरुङ र सचिवमा धनञ्जय दवाडीले उम्मेदवारी दिएका छन् । उपसचिवमा दानबहादुर विक र उपसचिव महिलातर्फ मञ्जु अधिकारीको उम्मेदवारी परेको छ ।
यस्तै अधिकारी पक्षबाट अध्यक्षमा मायानाथ अधिकारी, उपाध्यक्ष बाबुराम विक र सचिवमा रश्मि आचार्य उम्मेदवार बनेका छन्। उपसचिवमा सन्तोष राहुल र महिला उपसचिवमा मीना गुरुङले उम्मेदवारी दिएका छन् । अधिवेशन असोज १५ र १६ गतेका लागि तोकिएकामा नेतृत्व चयनमा सहमति नभएपछि लम्बिएको हो । अधिवेशनमा ९०७ जना प्रतिनिधि छन् ।