२०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल (रिगल)ले आममाफी पाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । सरकारले अपराधीलाई संरक्षण दिएको भन्दै प्रतिपक्षसहित सत्ता पक्षका सांसद, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवालगायतले सरकारकाे आलोचना गरिरहेका छन् ।
यस्तै, चेतनकी श्रीमती भारती मानन्धरले रिगललाई आममाफी दिने निर्णय फिर्ता गर्न माग गर्दै अनशन थाल्नु भएको छ ।न्यायका लागि नेपालगञ्जबाट काठमाण्डाै आएकी भारतीले माइतीघरमा हिजोदेखि रिले अनसन थाल्नुभएको हो । उहाँले न्याय नपाएसम्म घर नफर्किने बताउनु भएको छ । हत्यामा संलग्नलाई फेरि जेल चलान गर्नुपर्ने उहाँको माग छ ।
हिजो सर्वोच्च अदालतमा तारेख बुझ्न गएका बेला उहाँ सर्वोच्च परिसरमा ढलेपछि वीर अस्पताल लगेर उपचार गरिएको थियो । रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखेर गएको आइतवार भारतीले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । यो रिटमा आज सुनुवाइ हुने गरी पेशी तोकिएको छ ।
रिगलविरुद्ध २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर, संविधान दिवसको अवसरमा गएको ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि रिगल कैद मुक्त भएका थिए ।