प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणकाे छानबिन गर्न नचाहेको आरोप लगाउनुभएको छ । सुन तस्करी प्रकरणकाे छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारे पनि त्याे आयोगमार्फत छानबिन गर्न भने नमानेको उहाँकाे जिकिर थियो ।
आज सोमवारदेखि काठमाण्डाैमा शुरु भएकाे पार्टीको बाग्मती प्रदेश अधिवेशनकाे उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । सुन तस्करहरूलाई भगाउनका लागि सरकार एक महिनापछि मात्रै आयाेग बनाउन तयार भएकाे उहाँले दाबी गर्नुभयाे । ओलीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै न कुनै दिन छानबिन गराएरै छाड्ने चेतावनीसमेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले एक महिनासम्म सङ्घर्ष गरेर सुन तस्करीको छानबिन गर्नुपर्छ, व्यापक छानबिन गर्नुपर्छ भन्यौँ । एक महिनापछि सरकार बल्ल आयोग बनाउन मान्यो । तस्करहरूलाई भगाउन नै सरकारलाई एक महिनाकाे समय चाहिएकाे हाे । अहिले सरकार छानबिन गर्नु हुँदैन भनिराखेको छ ।’
ओलीले भ्रष्टाचारका सबै फाइल खोल्न पनि सरकारलाई चुनौती दिनुभयो । भ्रष्टाचारका फाइल खोले जेल पर्नेमा सत्तारूढ दलकै नेताहरू हुने उहाँले दाबी गर्नुभयाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिककाे आवाज संसदमा उठ्न नदिनका लागि संसद् लामो समयसम्म स्थगित गर्न ठाडो आदेश दिएको ओलीले बताउनुभयाे । अध्यक्ष ओलीले सरकार निकम्मा भएको भन्दै उसलाई सुझाव दिनुको कुनै अर्थ नरहेको उल्लेख गर्नुभयाे ।