मकवानपुर । मकवानपुरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आजबाट आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ । हेटौंडा–१, स्थित सन्चो अस्पतालमा कार्यरत दुइ जना डाक्टरहरुलाई कुटपिट गरेको बिरोधमा चिकित्सकहरुले हेटौंडा अस्पतालसहित मकवानपुरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प गरेका हुन् ।
बिरामीको उपचारमा संलग्नरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् । बुधबार बिहान हेटौंडा–१ भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डा प्रशान्त बिडारी र डा विकास थापा घाइते भएका छन्  । बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ  ।
डेंगीका कारण करीब एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका थिए । गत साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि चितवन मेडिकल कलेज रेफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । तर, आफन्तले अस्पतालको लापर्बाहीका कारण प्रधानको मृत्यु भएको भन्दै डाक्टरलाई कुटपिट गरेका हुन् ।
डाक्टरलाई कुटपिट गर्ने सबैलाई पक्राउ गरेर कानुनी दायरामा नल्याएसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिने हेटौंडा अस्पतालका डा हरिबहादुर खड्काले बताउनुभयो । ‘पीडित परिवारका व्यक्तिहरुलाई मात्र पक्राउ गरेर भएन त्यस घटनामा संलग्न अरुलाई पनि पक्राउ गरेर कानुनी दायरामा नल्याएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ उहाँले भन्नुभयो ।
कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रूपमा प्रहरीमा जाहेरी दिएका दिएका छन् । स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षा प्रत्याभूति नभएका कारण पीडितबाट मात्रै उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिक रूपमा दर्ता गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । अस्पतालमा कार्यरत डाक्टरलाई कुटपिट गर्नेहरुले निरन्तर रुपमा धम्की दिएका कारण कुटाई खाने मध्ये एक जना डाक्टर परिवारनै लिएर काठमाण्डौं गइसकेका छन् । प्रहरीले डाक्टरमाथी कुटपिट गर्ने चार जनालाई पक्राउ गरेको छ ।