हेटौंडा । सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरेको मूल्य वृद्धिको विरोधमा राष्ट्रिय युवा संघ नेपाल, मकवानपुरले विरोध प्रदर्शन गरेको छ । युवासंघ आज बागमती प्रदेशको राजधानी हेटौंडामा मोटरसाइकल तथा स्कुटर धकेली मुल्यवृद्धिको विरोध गरेको हो ।
सरकारले एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरुमा भइरहेको चर्को मूल्यबृद्दिको विरोध गर्दै हेटौँडाको सिमाचोदेखि बुद्धचोकसम्म युवाहरुले मोटरसाइकल तथा स्कुटर धकेली र्‍यालीसहित विरोध गरेको हो । र्‍यालीमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर,महंगी भ्रष्टाचार नियन्त्रण गर, ए सरकार∕तेरो मूल्यवृद्धिले मेरो ढाड सेकियो, ए सरकार∕जनता लुटिने कहिले सम्म ? दलालहरू होसियार, दैनिक उपभोग्य वस्तुमा गरिएको मूख्यवृद्धि नियन्त्रण गर लगाएतका प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका थिए । कार्यक्रममा युवासंघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतिले मूल्यवृद्धि फिर्ता नलिए अझै सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटिका कोषाध्यक्ष नरेन्द्र भण्डारी, खेलकुद महासंघ बागमती प्रदेशका सचिव जेन श्रेष्ठले सरकारले पेट्रोलियम पदार्थसँगै दैनिक उपभाेग्य सामाग्रीमा पनि मुल्य बढाएको र आम उपभोत्ताको ढाड सेक्ने काम गरेको हुँदा मुल्यबृद्धि तत्काल फिर्ता गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, युबा संघ मकवानपुरका कोषाध्यक्ष सुरेश बेरोजगार, जिल्ला कमिटि सविवालय सदस्य अनिल अधिकारीलगायत एमाले तथा युवा संघका कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।