मध्यपुर थिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका ५७ जनालाई कारागार विभागले उपत्यका बाहिरका सुधार गृहमा स्थानान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सानोठिमीस्थित सुधार गृहबाट १८ जनालाई पर्साको, १८ जनालाई मकवानपुरको, सात जनालाई डोटीको र १४ जनालाई रुपन्देहीको सुधार गृहमा स्थानान्तरण गरेको कारागार विभागले जानकारी दिएको छ ।
स्थानान्तरण गरिएकाहरू अधिकांश १८ वर्षमाथिका छन्। सुधार गृहमा रहेका २९७ मध्ये ४३ बालिका र किशोरी छन् । सुधार गृहमा रहेका बालक एवं १८ वर्षमाथिका किशोरहरू दुई समूहमा विभाजन भई ग्याङ बनाउने र आपसमा झगडा गर्ने, विवाद मिलाउन गएका प्रहरीमाथि नै जाइलाग्ने गर्न थालेपछि थप घटना हुन नदिन उनीहरूलाई अन्यत्र स्थानान्तरण गरेको बताइएको छ ।
सुधार गृहमा अधिकांशलाई जबरजस्ती करणी, कर्तव्य ज्यान, लागुऔषध, डाँका, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, चोरी लगायतको मुद्दामा अदालतको आदेशले सुधार गृहमा राखिएको थियो । सानोठिमीको सुधार गृहमा रहेकामध्ये १५४ जना जबरजस्ती करणीमा, ५८ जना कर्तव्य ज्यानमा संलग्न थिए । अदालतले १८ वर्षभन्दा कम उमेरका अपराधमा संलग्नहरूलाई सुधार गृह पठाउने गर्दै आएको छ ।
अदालतले तोकेको अवधि पूरा नगरेसम्म १८ वर्ष उमेर नाघे पनि सुधार गृहमै बस्न पाउने सुविधा दिएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ४३ ९४० मा ‘१८ वर्ष पुगेमा बानी ब्यहोरामा आएको सुधार, आर्जन गरेको सीप तथा शिक्षालाई ध्यानमा राखी बाँकी अवधि अन्य बालबालिकाबाट अलग राख्नुपर्ने’ उल्लेख छ । तर सानोठिमीमा रहेकामध्ये एक सय ३१ जना १८ वर्षमाथिका किशोरकिशोरी रहे पनि छुट्टाछुट्टै राख्ने व्यवस्था भने सरकारले गर्न नसक्दा सुधार गृहभित्रै अर्को अपराधका घटना होलान् भन्ने जोखिम भने रहँदै आएको छ ।
केटा १०० र केटी १० जनाको क्षमता रहेको यहाँको सुधार गृहमा तेब्बरभन्दा बढी २९९ बालबन्दी रहँदै आएकामा ५७ जनालाई स्थानान्तरण गरेको हो । यही भदौ ४ गते सुधार गृह तोडेर फरार रहेकामध्ये ६ जनाबाहेक अरूलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरेको थियो भने ६ जना अझै फरार छन् । कारागार विभागका अनुसार देशभरमा बाल सुधार गृहमा एक हजार १२७ बालबालिका छन्। अपराधमा मुछिएका १८ वर्षमुनिका बालबालिका राख्न मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, बाँके र डोटीमा बालसुधार गृह सञ्चालनमा छन् ।