हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले भन्सार छलेर ल्याइएका सामानहरु बरामद गरेको छ । बिभीन्न सवारीका साधनमा भन्सार छलेर ल्याइएका पाँच लाख २७ हजार मुल्यबराबरका सामानहरु प्रहरीले बरामद गरेको हो ।
विभिन्न बसहरुमा लुकाई छिपाई ल्याएको अबस्थामा कपडा लगायतका सामानहरु बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बिरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २४७३ नम्बरको बसमा यात्रु बस्ने सिटबाट काजु ६२ केजी, रजनी गन्ध १५ वटा सानो डब्बा, तुलसी सुर्ती ३ झोला बरामद गरिएको छ ।
यसैगरी २० बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ५ ख २४६८ नम्बरको बसको अगाडिको केबिनबाट अमुल बटर २ काटुन, फ्रेस क्रिम १ काटुन, अमुल घिउ २ काटुन बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना ७ ख ६००५ नम्बरको बसको डिक्किबाट मोबाईल पार्टस १ काटुन भित्र सानो काटुन २२ वटा, जुता २५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।