फाल्गुन १५, मकवानपुर । नेकपा (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर-१ का उम्मेदवार रामेश्वर रानाले चुनावी प्रतिबद्धताहरु सार्वजनिक गर्नुभएकाे छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत रानाले आफ्नाे प्रतिबद्धताहरु सार्वजनिक गर्नुभएकाे हाे ।
साे अवसरमा रानाले यसपटकको निर्वाचन सामान्य आवधिक प्रक्रिया मात्र नभई विशेष परिस्थितिले सिर्जना गरेको महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयाे । उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र प्राप्ति, संघीय गणतान्त्रिक संविधानको कार्यान्वयन तथा विकास र समृद्धिका लागि नेकपा एमालेले विगतदेखि नै राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयाे । मकवानपुर जिल्लाको विकास यात्रामा केन्द्र, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वले पुर्याएको योगदान जनताले प्रत्यक्ष अनुभूति गरिसकेको उहाँले बताउनुभयाे ।
क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले सडक सञ्जाल विस्तारदेखि स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, सिँचाइ, सहकारी, पर्यटन, तटबन्धन, सामाजिक सुरक्षा र गरिबी निवारणसम्मका क्षेत्रमा एमालेको सक्रियताले जिल्लाको समग्र विकासमा आधार तयार पारेको उल्लेख गर्नुभयाे । अहिलेको निर्वाचन देशलाई स्थिरता र समृद्धिको बाटोतर्फ अघि बढाउने कि अराजकता र अस्थिरतातर्फ धकेल्ने भन्ने विषयमा केन्द्रित भएको उनको भनाइ थियो ।

उहाँले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएर युवालाई दिग्भ्रमित गर्ने प्रयास भइरहेको भन्दै यस्ता गतिविधिबाट मुलुकलाई संकटतर्फ लैजान खोजिएको बताउनुभयाे । वर्तमान विषम परिस्थितिमा राष्ट्रप्रति समर्पित नेतृत्वको आवश्यकता औंल्याउँदै उहाँले मकवानपुरका मतदातालाई स्थायित्व र विकासको पक्षमा उभिन आग्रह गर्नुभएकाे छ ।
आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्दै रानाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै वैदेशिक हस्तक्षेप अन्त्य गर्न, संविधानलाई व्यवहारमा कार्यान्वयन गर्दै लोकतन्त्रलाई थप सुदृढ बनाउन तथा देशमा शान्ति सुरक्षा सुनिश्चित गर्ने बताउनुभयाे । साथै भ्रष्टाचार र कुशासन अन्त्य गर्दै सुशासन स्थापना गर्ने, रोकिएका तथा अधुरा रहेका सडक, खानेपानी, सिँचाइ, विद्युत, स्वास्थ्य र शैक्षिक पूर्वाधार निर्माणका काम सम्पन्न गर्ने उहाँको प्रतिबद्धता रहेको छ ।
उहाँले युवालाई प्राविधिक शिक्षा र सीपमूलक तालिममार्फत रोजगारीको अवसर सिर्जना गर्ने, कृषिलाई व्यवसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउने तथा हेटौंडा औद्योगिक क्षेत्रको विस्तारसँगै मयुरधाप नयाँ औद्योगिक क्षेत्रको विकासलाई गति दिने योजना पनि अघि सार्नुभयाे ।
त्यस्तै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने, पुराना बजारलाई आधुनिक बनाउने र ग्रामीण क्षेत्रमा नयाँ बजार विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । स्वास्थ्य बीमा सेवालाई पुनः व्यवस्थित गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको सेवा सुविधा विस्तार गर्ने उहाँले बताउनुभयाे ।
सामुदायिक विद्यालय र क्याम्पसको भौतिक पूर्वाधार सुधार गरी प्रविधिमैत्री शिक्षा सुनिश्चित गर्ने, जिल्लाका सबै जाति, जनजाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षण गर्ने तथा मकवानपुरलाई देशकै उत्कृष्ट पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना पनि उहाँले प्रस्तुत गर्नुभयाे । पत्रकार सम्मेलनमार्फत रानाले मकवानपुर क्षेत्र नम्बर-१ का मतदातालाई सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन हार्दिक अपिल गर्नु भएकाे छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवार रानाले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । शुक्रबारै उहाँले यस क्षेत्रअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–४ र १० नम्बर वडाका मतदातामाझ पुगेर भेटघाट तथा संवाद गर्नुभएकाे छ ।
हेटौँडा–४ कर्राचोकबाट सुरु गरिएको घरदैलो कार्यक्रममा रानाले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो एजेण्डा प्रस्तुत गर्नुभएकाे थियाे । एमालेका शालीन नेताका रूपमा परिचित रानाको उपस्थितिले मतदातामा उत्साह थपिएको स्थानीयवासीले बताएका छन् । सोही दिन दिउँसो उहँँ हेटौँडा–१० को न्यरेनी, भुटनदेवी रोड, बसपार्कलगायत क्षेत्रमा पुग्दा मतदाताले घडा थापेर, फूलमाला र टीका लगाएर स्वागत गरेका थिए ।
मतदाता भेटघाटका क्रममा रानाले मकवानपुर क्षेत्र नम्बर १ मा एमालेकै जित सुनिश्चित रहेको दाबी गर्नुभयाे । आफ्नो उम्मेदवारीप्रति देखिएको जनउत्साह नै विजयको बलियो आधार भएको उहाँको भनाइ थियो । ‘म घरदैलोमा पुग्दा मतदाताहरू हातमा माला र अबिर बोकेर ढोकामा कुरेर बस्नुभएको हुन्छ ।’ उहाँले भन्नुभयाे, ‘मतदाताको मायाले नै उम्मेदवार जित्छ । मलाई देखाइएको माया, सद्भाव र साथले एमाले विजयी हुन्छ भन्नेमा कुनै दुविधा छैन ।’
रानाले पछिल्लो समय केही निर्वाचन क्षेत्रमा नयाँ पार्टीको चर्चा चले पनि मकवानपुरमा त्यस्तो अवस्था नरहेको जिकिर गर्नुभयाे । मतदातामाझ चिनिन नसकेका अनुहार, आफ्नो एजेण्डा स्पष्ट रूपमा प्रस्तुत गर्न नसक्ने तथा स्थानीय भूगोल नै नबुझेका उम्मेदवारलाई मकवानपुरवासीले मत नदिने उनको दाबी थियो । मकवानपुर–१ अन्तर्गतका विभिन्न वडामा भ्रमण गर्दा एमालेको माहोल सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयाे ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन उम्मेदवार कमल थापालाई एमालेले दिएको मतपरिणामलाई आधार बनाएर अन्य दलले जित्ने भ्रम फैलाए पनि त्यसले कुनै असर नपर्ने उहाँको तर्क थियो । मकवानपुरको विकासका लागि आफूले विगतमा खेलेको भूमिकालाई मतदाताले निष्पक्ष मूल्यांकन गर्ने विश्वास व्यक्त गर्दै उनले सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नुभयाे । पञ्चायतकालदेखि विभिन्न तहमा सक्रिय रहँदै आएका उनी बौद्धिक, शालीन र बेदाग छविका नेताका रूपमा परिचित राना एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इञ्चार्जसमेत हुनुहुन्छ ।









