हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ७ का एक युवाले आफ्नै संवेदनशील अंग (लिंग) काटेका छन् । मकवानपुरगढी ७ नयाँगाउँका (नाम परिवर्तन) २२ वर्षीय युवाले आफ्नै संवेदनशील अंग काटेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । हेटौंडा १० बसपार्कमा रहेको फूलबारी होटल एन्ड लजको १ नम्बर कोठामा बसेका उनले आफ्नै संवेदनशील अंग काटेपछि घाइते भएका हुन् ।
गएराति करिब १० बजेतिर घाइते भएका उनी करिब दुई घण्टापछि उपचारका लागि हेटौंडा अस्पताल पुगेका थिए । हेटौंडा अस्पतालले थप उपचारका लागि भरतपुर पठाएको छ । उनको अहिले भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनले आफैंले आफ्नो संवेदनशील अंग काटेको प्रहरीलाई जानकारी दिएका छन् ।
सुतिरहेको अवस्थामा बिच्छीले संवेदनशील अंगमा टोकेपछि शरीरमा विष फैलिन्छ भनेर उक्त भाग काटेको उनले प्रहरीलाई जानकारी दिएका छन् । ‘बुधबार राति १० बजेतिरको घटना हो । घाइते व्यक्ति उपचारको लागि अस्पताल पुगेपछि घटनाको बारेमा थाहा पाएका हौं’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) टेकबहादुर कार्कीले भने, ‘घाइतेले आफैंले काटेको बताएका छन् । बिच्छीले टोकोकोले विष सर्छ र मरिन्छ भनेर काटेको बताएका छन् । घाइतेलाई उपचारको लागि चितवन पठाइएको छ । थप विवरण आउन बाँकी छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको छ ।’
अनुसन्धानको क्रममा उनी होटलमा एक्लै बसेको पाइएको कार्कीले बताए । उनि उपचारका लागि आफैं अस्पताल गएका थिए । उनी अहिले बोल्न सक्ने भएकोले अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनी फुलबारी होटल एण्ड लजको १ नम्बर कोठामा बसेका थिए । यस विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।