नेकपा एमालेले पार्टीका सबै कमिटीमा ४० वर्षमुनिका युवाहरूको सहभागिता बढाउन कोटा तोकेको छ । केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले पार्टीका प्रदेशदेखि टोल कमिटीसम्म युवाको न्यूनतम प्रतिशत तोकेर मातहत कमिटीमा पठाउने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश अधिवेशनहरूबाट ४० वर्षमुनिका कम्तीमा १० प्रतिशत युवाको अनिवार्य प्रतिनिधित्व हुने बताउनुभयाे ।
त्यस्तै जिल्ला कमिटीमा न्यूनतम १५ प्रतिशत,पालिका कमिटीमा न्यूनतम २० प्रतिशत र वडा तथा टोल कमिटीहरूमा कम्तीमा एक तिहाइ ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने ज्ञवालीले बताउनुभयाे ।
त्यस्तै नेकपा एमालेले आसन्न प्रदेश अधिवेशनहरुमा प्रतिनिधि छनौटका लागि स्थानीय तहलाई निर्वाचन क्षेत्रका रुपमा तोकेको छ । प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु पलिकाबाट निर्वाचित हुनेगरी व्यवस्था सचिवालय बैठकले मिलाएको उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभयाे । पालिका तहबाटै प्रतिनिधि चयन हुने र त्यसमा युवा तथा महिलाहरुको समेत समावेशी प्रतिनिधित्व मिलाउन निर्देशन दिइएको छ ।