कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
त्यसअघि अपराह्न ४ बजेर ४५ मिनेटमा थापाले मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएको थियो । कोशी प्रदेश सभामा ९३ सदस्य रहेका छन् । जसमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ जना प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । एक हप्ता अघि अदालतको निर्णयपछि थापाको मुख्यमन्त्री पद खारेज भएको थियो ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले एक महिना भित्र विश्वासको मत लिने बताउनुभयो । उहाँले सदनभित्र गणितीय सङ्ख्याका कारण राजनीतिक समस्या आइरहेकाले सबै दलहरूबिच सहमति कायम गरी विश्वासको मत लिने उल्लेख गर्नुभयो । राजनीतिक स्थायित्वका लागि पनि गठबन्धन दलहरूबिच सहमति कायम भएको उहाँको भनाई छ । भोलि बिहान १० बजे मुख्यमन्त्रीको सपथ तथा मन्त्रीपरिषद् विस्तार गरिने उहाँले बताउनुभयो ।










