मकवानपुर । बिभीन्न माग राख्दै मकवानपुरका किसानहरुले आज बागमती प्रदेशको राजधानी हेटौंडामा आन्दोलन गरेका छन् । नेकपा एमाले निकट अखिल नेपाल किसान माहासंघ तथा किसान संजालले आज हेटौंडाको मुख्य बजार बुद्धचोकमा विभिन्न माग राख्दै चक्काजामसहित धर्ना दिएका हुन् ।
आन्दोलित किसानहरुले पशुवस्तुमा लागेको लम्पी स्किन रोगको महामारी बिकराल भएको परिस्थतीमा पनि सरकार मौन रहेको भन्दै चक्का जाम गरेका हुन् । किसानका मागहरु पटक पटक सरकार समक्ष राख्दा पनि सुनुवाइ नभएपछी सवारी आवगमन समेत बन्द गरेर धर्ना दिइएको अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष बिष्णु दंगालले बताउनुभयो ।
यस्तै मकवानपुरका बिभीन्न स्थानीय तहहरुले किसानलाई दूधमा दिदै आएको अनुदान रकम कटौती गरेकाले तत्काल कार्यबिधि बनाएर अनुदान रकम दिन माग गरिएको अध्यक्ष दंगालले बताउनुभयो । किसानका लागि अरु अनुदान पनि पछील्लो वर्ष कटौती गरिएकाले त्यो अनुदान पनि उपलब्ध गराउन माग गरिएको उहाँले बताउनुभयो ।
विमा कम्पनीहरूले पशुवस्तुको बीमा भुक्तानी र नविकरण नगरेकोमा सरकारले समेत वास्ता नगरेपछी देशभरको किसान आन्दोलित हुन परेको दंगालको भनाई छ । सरकारले चलाएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बजारका सरट र स्टलहरु बिना प्रतिस्पर्धी पूरानै व्यापारीलाई दिने निर्णय गरेकोमा समेत आन्दोलन गरिएको उहँँले बताउनुभयो ।
यस्तै रासायनिक मलको अभाव व्यापक भएको अवस्थामा सरकारले मलको अभाव छैन भनेर प्रचार गरेकोमा पनि किसानको ध्यानाकर्षण भएको दंगालले बताउनुभयो । कृषि प्रधान देशमा किसानलाई आइपर्ने समस्याको राज्यले सम्बोधन नगरेको भन्दै शुक्रबार विरोध प्रदर्शन गरिएको उहाँले बताउनुभयो । विरोध तथा धर्ना कार्यक्रम मकवानपुरसहित सातै प्रदेशमा भएको छ ।