मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुले आईतबार पुर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका विषयमा सरोकारवालाहरुसंग छलफल गरेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले सडक विस्तार सम्बन्धमा सूचना प्रकाशन सडक बिस्तारमा सहजिकरण गर्ने उदेश्यका साथ जिससले राजनैतिक दल एवम् अन्य सरोकारवालाहरुसंग छलफल गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा जिल्ला स्थित राजनैतिक दल एवम् अन्य सरोकारवालाहरुको उपस्थितीमा बसेको बैठकले समस्या समाधानका लागि जिल्ला समन्वय समितिको संयोजक्त्वमा समन्वय एवम् सहजिकरण समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्ने सहमति गर्दै सो निर्णय कार्यान्वयनका क्रममा उत्पन्न हुने विभिन्न समस्या समाधानका लागि जिससको संयोजक्त्वमा, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक डिभिजन कार्यालय हेटौंडा र उद्योग वाणिज्य संघ मकवानपुर सदस्य रहने गरि समिति गठन गरेको जिसस मकवानपुरका प्रमुख घलानले बताउनुभयो । समितिले व्यवसायि र घरधनीको क्षतीपुर्तीका सम्बन्धमा प्राविधिक मार्फत अध्ययन गराई सडक बिस्तारका क्रममा उत्पन्न हुने अन्य समस्या समाधान गर्दै क्षतीपूर्तीका लागि समेत सम्बन्धीत निकायमा पहल गर्ने उहाँले बताउनुभयो ।
बैठकमा सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश कुमार यादवले यस पटक संघीय सरकारले सडक विस्तारका लागि बजेट पनि छुट्याएकाले २५ गज सडक विस्तार गरिने बताउनुभयो । भने मकवानपुर उद्योग बाणिज्यसंघलगायत अन्य सरोकारवालाले आफुहरु घर भत्काउन तयार रहेको तर, उचित मुवाब्जा दिनुपर्ने धारणा राखेको थियो । यस्तै सडकको सूचना नै गलत भएको धारणा राखेको छ । भने मकवानपुरका राजनैतिक दललगायत प्रशासनले समेत काम अगाडी बढाउँदै उचित क्षतीपूर्तीका लागि पहल गर्नुपर्ने धारणा राखेका थिए । यो विषयलाई थप गिजोलेर समस्या थप्न नहुने भन्दै यसको सबै मिलेर निकास निकाल्नु पर्ने धारणा राखेका थिए ।
बैठकमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, एकालाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानीया, जिसस उपप्रमुख सानुकाजी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाँई, सडक डिभिजन हेटौंडाका प्रमुख राजेश कुमार यादव, मकवानपुर जिल्ला स्थित राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्तालगायतको उपस्थिती थियो ।