हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा वडा अध्यक्षकै मिलेमतोमा गुणस्तरहिन काम भएको स्थानीयले गुनासो गरेका छन् । मकवानपुरगढी–५, स्थित बाङ्गेटोल सडक स्लाब ढलान गर्दा गुणस्तरहिन काम भएको स्थानीयबासीले गुनासो गरेका हुन ।
वडाको ५ लाखको सिलिङ बजेटबाट वडाअध्यक्षकै मिलेमतोमा ७० मिटर सडक स्लाब ढलानको काम भएको स्थानीय गोविन्द दुललले बताउनुभयो । तर, सडक स्लाब ढलान गर्दा वालुवा नै नहाली डस्ट प्रयोग गरेर स्लाब गरिएको उहाँले बताउनुभयो । स्थानीयबासीले ढलानमा डस्टकाे प्रयोग नगर्न आग्रह गर्दा समेत नमानेको उहाँले बताउनुभयो । “हामिले भन्दा भन्दै पनि स्लाब ढलानमा बालुवा र गिट्टि प्रयोग गर्नुपर्नेमा डस्ट प्रयोग गरिएको छ ।”दुललले भन्नुभयो । वडा अध्यक्षले एकलाैटि ढंगले उपभाेक्ता समिति गठन गरेकाे साथै समिति बनाउदा स्थानियलाई जानकारी समेत नगराएकाे उहाँले भन्नुभयाे ।
त्यस्तै गढी–५, कै अधिकारीटोल र गुम्बाडाँडाका लागि स्लाब ढलान गर्न छुट्याएको ५ लाख बजेट समेत वडा अध्यक्षले मनोमानी ढंगले अन्य स्थानमा नाली निर्माणमा लगाउनु भएको गुनासाे छ । वडाको सिलिङ बजेट वडाअध्यक्षले दुरूपयोग गरेको अधिकारी टोलका स्थानीय अस्मिता अधिकारीले बताउनुभयो । गुम्बाडाँडाको बजेट समेत वडाअध्यक्षले राजनितिक प्रतिशोधका आधारमा सिमलटार सिरानटोलमा नाली निर्माणमा लगाउनु भएको गुम्बाडाँडाका स्थानीय नबराज न्यौपानेले बताउनुभयो । उक्त नाला निर्माणमा समेत वालुवाको सट्टा डस्ट प्रयोग गरेर निर्माण कार्य भईरहेको उहाँले बताउनुभयो ।
यस विषयमा वडाअध्यक्ष दिपेस दाहालसंग बुझन खोज्दा उहाँको फोन उठेन । भने, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेन्द्र भण्डारीले वडा अध्यक्ष र वडा सचिवसंग यस विषयमा जानकारी लिने प्रतिकृया दिनुभयो । यस्तै गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन (नेपाली) ले त्यस्तो हुन नपर्ने भन्दै सत्य तथ्य बुझने प्रतिकृया दिनुभयो । “यस विषयमा हामी बुझ्ने छौं, त्यस्तो भएको पाईएमा भुक्तानी रोकिने छ ।” उपाध्यक्ष नेपालीले भन्नुभयो ।