file photo

आज चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान माहाशाखाले जनाएकाे छ । आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयाे ।
देशभर मनसुनी प्रभावका कारण बदली तथा वर्षाको सम्भावना भए पनि चार वटा प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने मौसमविद् झाले जानकारी दिनुभयो । यस्तै, आज मधेस प्रदेशका सबैजसो ठाउँ र बाँकी तराई मधेसका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको झाले बताउनुभयो ।
आज राति पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । सुदूरपश्चिमका धेरैजसो भूभाग र कर्णाली, गण्डकी तथा कोशी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ ।
आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो । वर्षाका कारण बाढी, पहिरो तथा चट्याङको जोखिम रहेकोले सावधानी अपनाउन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।