मकवानपुर । मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको बजेट कटाैती गरि न्युन बजेट छुट्याएको प्रती नेकपा एमाले मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ । एमाले मकवानपुरका अध्यक्ष एवम् बागमती प्रदेश सरकारका पुर्व मन्त्री एकालाल श्रेष्ठले प्रेस बिज्ञप्ति मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने मकवानपुरबासीको सदियौंको सपनामाथि धावा नबोल्न भन्दै ध्यानाकर्षण गर्दै खबरदारी गर्नु भएकाे हो ।
बागमती प्रदेशको राजधानी हेटौंडा स्वास्थ्योपचारलगायत स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षामा निकै नै पछाडि परेको क्षेत्रको रुपमा रहेको तितो यथार्थलाई मनन गर्दै तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी कार्यान्वयनमा रहेको छ । हेटौंडा अस्पताल प्रतिष्ठान मार्फत ल्याई सेवामा सुधार गरिएदै आएकोमा पुरानै अवस्थामा फर्काउने खेलमा बर्तमान सरकार रहेको बिज्ञप्तिमा भनिएको छ । विगतमा ५० शैयाको हेटौंडा अस्पताल प्रतिष्ठान मार्फत गएपछि एमाले नेतृत्वको सरकारकै पहलमा हाल ३०० बेडको सुविधासम्पन्न अस्पतालमा परिणत गरिएको थियो ।
हालको सरकारले नियमित रुपमा सञ्चालन भइरहेको र प्रदेशको गौरवको रुपमा विकास हुँदै गएको उक्त प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई उपलब्ध गराउनुपर्ने तलब सुविधा कटौती गर्दै २१४ भन्दा बढी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जागिरबाटै निकाल्ने, बजेट कटौती गरेर अस्पतालको सेवा प्रभावित बनाउने तथा अति महत्वपूर्ण स्वास्थ्य संस्थालाई तहसनहस बनाउने उद्देश्यले जनभावना विपरित काम गरिरहेको भन्दै नेकपा (एमाले) मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।
स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैको अभिभावक बन्नु पर्ने सरकार नै नागरिकहरुको स्वास्थ्यमा खेलबाड गरिरहेको एमालेको ठहर छ । हेटौंडा अस्पतालालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग नगर्न अदालतबाट भएको आदेशको अवहेलना गर्दै तथा सरकार आफैले बनाएको कानूनको समेत उल्लङ्घन गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट पुन अलग्याउने काम भइरहेकोले दाबी बिज्ञप्तिमा गरिएको छ ।
यस्ता प्रयत्नहरु तत्काल रोक्न, प्रतिष्ठानलाई विनियोजन हुँदै आएको बजेट कटौती गरेर अस्पतालको उपचार सेवामा असन्तुलन ल्याउने काम बन्द गर्न तथा प्रतिष्ठान एवं अस्पतालमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षा गर्न नेकपा (एमाले), मकवानपुरले माग गरेको छ ।
