मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको हेटौँडा अस्पतालको सङ्घीय र प्रदेशका स्वास्थ्य मन्त्रीले संयुक्त अनुगमन गर्नुभएको छ । आज सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौँडा अस्पतालको अनुगमन गर्नुभएको हो ।
उहाँहरूले अस्पतालको आकस्मिक कक्ष, बहिरङ्ग कक्ष, भर्ना भएका बिरामीको अवस्था, अस्पतालको औषधालय लगायतको अनुगमन गर्नुभएको थियो । अस्पताल र सर्वसाधारणको उपचारमा परेका समस्याको विषयमा उहाँहरूले जानकारी लिनुभयो ।
अस्पतालमा उपचार गरिरहेका सर्वसाधारणका समस्या, गुनासा सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्या समाधान गर्ने सङ्घीय स्वास्थ्य मन्त्री बस्नेतले बताउनुभयो । देशैभरका स्वास्थ्यकर्मीको समस्या बढेको उल्लेख गर्दै उहाँले हेटौँडा अस्पतालमा पनि त्यस्ता समस्या रहेकाले यहाँ थप स्वास्थ्यकर्मी पठाउनका लागि पहल गर्ने विश्वास दिलाउनुभयो । मन्त्री बस्नेतले गरिब परिवारका लागि १० प्रतिशत शय्या निःशुल्क रूपमा प्रयोग गर्ने वातावरण तयार गर्न निर्देशन दिनुभयो ।
हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटाले हेटौँडा अस्पताल हाल सरकारी स्तरबाट ५० शय्यामा मात्र सञ्चालनमा रहेको र प्रतिष्ठान अनि व्यवस्थापन समितिमार्फत भने अरू एक सय ५० शय्या थप गरेर सञ्चालन गरिएको बताउनुभयो ।
