फाइल तस्विर

मकवानपुर– ३ नम्बर प्रदेशको प्रदेशसभाको वैठक आज बस्दै छ । प्रदेशसभाको वर्षे अधिवेशन सकिर गत भदौ २५ गतेबाट स्थगित भएको बैठक करीब ४ महिना पछि सोमबार (आज) बस्न लागेको हो ।
दिउँसो ३ वजेबाट सुरु हुने हिउँदे अधिवेसनमा प्रदेशको नाम र राजधानीको विषयमा छलफल हुने सभामुख सानुकुमार श्रेष्ठले वताउनुभएको छ । राजधानी र नामका विषयमा प्रदेशसभामा आज छलफल हुने तथा २२ गते भोली मतदान हुने उहाँले बताउनुभयो । पहिलो दिन आज प्रदेश सभा बैठकमा प्र्रदेश राजधानी र नाम सहित नौ प्रस्ताव पेश हुने सभामुख श्रेष्ठले बताउनुभयो । त्यस्तै दोस्रो दिन ६ वटा प्रस्ताव रहेका र त्यसमध्ये राजधानीका बारेमा निर्णय समेत हुने सभामुख श्रेष्ठले जानकारी दिनुभयो । राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने र दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताउनुभयो । प्रदेशसभाको दुई तिहाइ बहुमतबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
तर, प्रदेश ३ प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपाबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर विमति छ । केही दिनअघि बसेको नेकपा सचिवालय बैठकले नाम ‘वाग्मती’ र राजधानी ‘हेटौंडा’ कायम गर्न निर्देशन दिए पनि पार्टी केन्द्रले हस्तक्षेप गरेको भन्दै नेताहरू रुष्ट छन् । खासगरी नामभन्दा पनि राजधानीको विषयमा नेकपा सांसदहरूको असहमति रहेको छ । प्रदेशको नाम वाग्मती र स्थायी राजधानी हेटौंडा राख्न पार्टी सचिवालयले गरेको निर्णय अनुमोदन गराउन नेकपा प्रदेश ३ संसदीय दलको बैठक लगाता ३ दिन सम्म बसे पनि आइतबार बिना निष्कर्ष मंगलबारसम्मका लागि स्थगित भएको छ । उता, प्रदेश ३ संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने यसबारे अझै अन्योलमा छ । ३ नम्बर प्रदेशसभमा ११० सदस्य मध्ये ८० सांसद् नेकपाका रहेका छन् । प्रदेशको नाम र राजधानीको प्रस्ताव पारितका लागि ७४ मत भए पुग्छ । प्रदेश ३ को प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र १÷१ सांसद् छन् ।