राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदमा सिफारिस हुनुभएकी विन्दवासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कंसाकारले आज सोमवार दिउँसो ३ बजे सिंहदरबारमा रहेको कानुन समितिको हलमा सांसद पदको शपथ लिनुभएको हो ।
रास्वपाको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित कंसाकारलाई सभामुख देवराज घिमिरेले शपथ गराउनुभएको हो । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठकाे मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि रास्वपाले श्रेष्ठलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।











