हेटौंडा। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मनाइँदै गरिएको सोह्रौं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै देशलाई सुशासन, विकास एवं समृद्घिको पथमा लम्किने आधार गणतन्त्रबाट निर्माण भएको बताउनुभएको छ । नेपाल शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको ऐतिहासिक र गौरवमय दिनका रुपमा गणतन्त्र दिवसलाई प्रमुख शर्माले उल्लेख गर्नुभएको छ । ‘यस महत्वपूर्ण दिनको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
प्रदेश प्रमुख शर्माले भन्नुभएको छ,‘गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात अमर शहीदहरूप्रति हार्दिक श्रद्घासुमन अर्पण गर्दै बेपत्ता,घाईते तथा अपाङ्ग योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु ।’प्रमुख शर्माले शुभकामना सन्देशमा ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को बसन्त क्रान्तिको जगमा नेपाली जनताका प्रतिनिधिमार्फत २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट हाम्रो देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको उल्लेख गर्नुभएको छ । ‘यो दिनलाई हामी वंश परम्परामा चलिआएको निरंकुश, केन्द्रिकृत र एकात्मक शासन व्यवस्थाको अन्त्य गर्दै नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउँने दिनका रुपमा स्मरण गर्दछौं’ प्रदेश प्रमुखको शुभकामना सन्देशमा छ ।
गणतन्त्रात्मक व्यवस्थामा हामी संघीयता,धर्मनिरपेक्षता,समानुपातिकता एवं समावेशीतासहितको संविधान प्राप्त गर्दै अधिकार सम्पन्न नागरिक भएको प्रमुख शर्माको भनाई छ । यही व्यवस्थाबाट हाम्रो देशलाई सुशासन, विकास एवं समृद्घिको पथमा लम्किने आधार समेत निर्माण भएको उहाँको जोड छ । नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका सम्मानपूर्वक बाँच्न पाउँने, स्वतन्त्रता, समानता, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय, सामाजिक सुरक्षा, श्रम, महिला, बालबालिका, दलितका हक जस्ता विषय हाम्रा लागि अत्यन्त सुखद् र खुशीको विषय भएको प्रमुख शर्माले सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले यी तमाम प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्दै अघि बढेमा गणतन्त्र थप दिगो र दरिलो हुँदै जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन अवश्य हुने विश्वास समेत लिनुभएको छ ।
आजको ऐतिहासिक दिनको सन्दर्भलाई स्मरण गरिरहँदा हामीले प्राप्त गरेको उपलब्धिमाथि धावा बोल्नेबाट सचेत रहँदै मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता,राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्दै संविधानको मर्म र भावना अनुसार चल्नु हामी सबै नागरिकको दायित्व भएको प्रमुख शर्माको भनाई छ । प्रमुख शर्माले आफ्नो सन्देशमा हाम्रो जीवनलाई आर्थिक,सामाजिक र सांस्कृतिक रुपान्तरणसहित सभ्य र सुसंस्कृत बनाउँदै समुन्नत समाज निर्माणमा गणतन्त्रले सदैव मार्ग प्रसस्त गरोस् भन्ने कामना गर्नुभएको छ । साथै, देश निर्माणको महाअभियानमा लामबद्द हुन सबैलाई यो दिवसले प्रेरणा मिलोस् भन्नेमा प्रमुख शर्माले शुभकामना व्यक्त गर्नुभएको छ ।