मकवानपुर– नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा मकवानपुरका पर्यटकीय स्थानको जानकारी दिने र आन्तरिक तथा बाह्य पर्यटकलाई सहजीकरण गर्ने उद्देश्यका साथ यो सङ्क्षिप्त पर्यटकीय स्थानहरूको चिनारी प्रस्तुत गरेका छौं । यसका माध्यमले हेटौंडा–११ स्थित सहिद स्मारकका बारेमा बुझ्न र घुम्न सहज होस भन्ने हाम्रो धारणा हो ।
राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरूको प्रतीक स्वरूप बाह्र जना सहिदका आकृति एउटै २५ टनको शिलामा कुँदेर जनस्तरबाट स्थापना गरिएको सहिद स्मारक देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा परिचित भएको छ । आकर्षक पार्क तथा पर्यटकीय सूचना केन्द्र, सहिद ग्यालरी, उद्यान, सहिद स्मृति स्तम्भ, नमुना चिडियाघर, मदनवाटिका, बालउद्यान, पौडी पोखरी, पानी फोहरा, झोलुङ्गे पुलले स्मारकलाई पर्यटकहरूका लागि मनमोहक बनाएका छन् । हालै निर्मित चार जना (पुष्पलाल श्रेष्ठ, विपी कोइराला, गणेशमान श्रेष्ठ, मनमोहन अधिकारी) प्रजातान्त्रिक योद्धाहरूको पूर्ण कदको सालिकसहितको उद्यानले अझ त्यसको गरिमा बढाएको छ । हामी मकवानपुरमा हरेका पर्यटकिय स्थलहरुको जानकारी निरन्तर प्रस्त्ग गर्दै जाने छौं ।