नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले खानिजजन्य वस्तुको उत्खनन गर्नुपर्छ भन्ने रिर्पोट बाहिर ल्याउन माग गर्नुभएको छ । शुक्रवार अर्थ मन्त्रालयमा उद्योग वाणिज्य महासङ्घको तर्फबाट आउँदाे बजेटमा सुझाव दिँदै अध्यक्ष ढकाले यस्तो माग गर्नुभएको हो ।
उहाँले चुरे क्षेत्र उत्खननका विषयमा बनाएको प्रतिवेदनमा चुरे क्षेत्रमा उत्खनन गरी वर्षको पाँच खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने रिपोर्ट आएकाले सार्वजनिक नभएको भन्दै तत्काल सार्वजनिक गर्न माग गर्नुभयो । चुरे क्षेत्रबाट बगेर गएको गिट्टी, बालुवालाई व्यवस्थापन गर्ने गरी बजेटमा व्यवस्था गर्नुपर्ने उहाँकाे माग छ ।
अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको कम्तीमा २० प्रतिशत उत्पादन र सेवामूलक क्षेत्रमा लगाउन सक्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले कोषहरूमा जम्मा भएको अर्बाैँ रुपैयाँमा बैंकहरूले कति ब्याज दिन्छन् भनेर खोजेर बसेको अवस्था रहेको भन्दै कोषमा जम्मा भएको २० प्रतिशत रकमलाई उत्पादन क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले विदेशी अनुदान पनि निजी क्षेत्रमार्फत ल्याउने व्यवस्था गर्न माग गर्नुभयो ।
कृषि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि खेतदेखि खाडीसम्म पुर्याउने नीति बनाउनुपर्ने उहाँकाे भनाइ छ । ढकालले सरकारले कमर्सियल सवारी साधनहरूको शतप्रतिशत बीमा र भुक्तानी नभएसम्म बाहिर चल्न नदिने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले सरकारले त्यस्तो व्यवस्था गरिदिए बैंकमा पसेको कर्जा नियन्त्रण हुने बताउनुभयो ।











