नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले बलिया देशसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताएका छन् । मङ्गलवार फाइनल खेलमा नेपालले यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएसँगै कप्तान पाैडेलले बलिया टोलीविरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने बताए ।
पाैडेलले एसिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भूमिका तारिफयोग्य रहेको प्रतिक्रिया दिए । प्रशिक्षकको योजनाअनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै उनले एसिया कप नेपाली टोलीका लागि ‘एक्सपोजर’ भएको बताए ।
अहिले एसिया कप आयोजना सम्बन्धमा धेरै विषय उठिरहेको अवस्थामा जुनकुनै ठाउँमा भए पनि त्याे प्रतियाेगिता हुनुपर्ने पाैडेलले बताए । एसिया कप आउँदाे सेप्टेम्बरमा पाकिस्तानमा हुने तालिका छ ।
यस्तै फाइनलमा यूएईसँगकाे खेलमा सम्हालिएको प्रदर्शन गरेका गुलशन झाले योजनाअनुसार ब्याटिङ गर्न क्रिजमा पुगेको र प्रशिक्षकको योजनाअनुसार खेल्दा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिए । उनले तेस्राे नम्बरमा ब्याटिङ गर्दै भीम सार्कीसँग उत्कृष्ट साझेदारी गरेका थिए । झाले करियरकै उत्कृष्ट ब्याटिङ गर्दा खेलकाे ‘प्लेयर अफ दि म्याच’ पनि घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भूमिका निकै महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिए । नेपालले एसिया कपमा स्थान बनाएसँगै बलिया टोलीसँग खेल्ने अवसर आएको उनले बताए । लामिछानेले नेपाली टोलीलाई प्रतिकूल मौसममा पनि साथ दिएको र दर्शकको साथबाट नै घरेलु मैदानमा पाहुना टोलीलाई हराउन सहज भएको बताए ।