ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले समस्याको समाधान वार्ताबाटै खोजिनुपर्नेमा जोड दिनुभएको हो ।
राष्ट्रपति सिल्भाले युद्धको लागि किएभ पनि दोषी रहेको र मस्कोमाथि प्रतिबन्ध लगाउन वा किएभलाई गोलाबारुद आपूर्ति गर्न आफूहरु पश्चिमी देशहरुसँग सामेल नभएको प्रस्ट पार्नुभएको छ ।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग लिस्बनमा भएको भेटपछि उहाँले आफूहरु वार्ताद्वारा नै राजनीतिक समाधानको समर्थन गर्ने बताउनुभयो । यसअघि गएको फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका उहाँले अप्रिल महिनाको सुरुमा चिनियाँ राष्ट्रपति सी जिन पिङसँग पनि रुस–युक्रेन युद्धको विषयमा छलफल गर्नुभएको थियो ।