एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा नेपालले ओमानलाई ८४ रनले हरायाे । नेपालले दिएकाे तीन सय ११ रनकाे विशाल लक्ष्य पछ्याएकाे ओमानले ४६ ओभर ३ बलमा दुई सय २६ रनमा अलआउट भयाे । ओमानका ब्याटर अकिब इलियास घाइते हुँदै क्रिजमा नआई रिटायर्ड आउट भएपछि नेपाल विजयी भएकाे थियाे । ओमानका लागि माेहम्मद नदीमले ६५ र सन्दीप गाेदले ४६ रन बनाए ।
नेपालका सन्दीप लामिछाने र करण केसीले तीन/तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १० रन बनायाे । नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक बनाए । उनले ६४ बल खेल्दै १० छक्का र नाै चाैकाकाे मद्दतमा एक सय आठ रन जाेडे । यस्तै साेमपाल कामीले नटआउट ६३ र करण केसीले नटआउट २९ रन बनाए । ओमानका आयन खानले दुई विकेट लिए । आजकाे खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी याेगफल बनाएकाे छ ।
यसअघि नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ मा घरेलु मैदानमै भएकाे पीएनजीसँगकाे खेलमा दुई सय ९७ रन बनाएकाे थियाे । यस्तै आजकाे खेलमा नेपालका स्पिनर सन्दीप लामिछानेले दुर्लभ कीर्तिमान बनाएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे सय विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा याे कीर्तिमान बनाएका हुन् । याे जितसँगै समूह ‘ए’ मा रहेकाे नेपालले दुई खेलमा चार अङ्क जाेडेकाे छ । नेपाल तालिकाकाे शीर्ष स्थानमा यथावत् छ । एसीसी प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।