भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ । भारतबाट आएको नयाँ मूल्य सूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको नेपाल आयल निगमले जनाएको छ । यसका साथै, खाना पकाउने एलपी ग्याँसको मूल्य समेट घटेर आएको छ । १५/१५ दिनमा आउने मूल्य सूचीअनुसार भारतले पेट्रोलियम पदार्थको मूल्य घटेर पठाएको हो । नयाँ मूल्य सूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ ।
यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १‍.७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ । हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ ।
भारतका धेरै पटक मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा र ग्यासबाट हुँदै आएको घाटालाई पूर्ति गर्न भन्दै भाउ घटाएको छैन । भारतबाट भाउ बढेर आउने बित्तिकै नेपालमा पनि बढाइहाल्ने तर पटक पटक भाउ घटेर आउँदा समेत नेपालमा पुरानै भाउमा पेट्रोलियम पदार्थ बेचेर ठगेको भन्दै उपभोक्ता आक्रोशित छन् । पछिल्लो समय भारतले रुससँग सस्तो मूल्यमा तेल किनेका कारण नेपालमा पठाउने तेलमा पनि भाउ घटाइरहेको छ ।