राष्ट्रियसभाको आजको बैठकमा विभिन्न चार वटा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८÷२०७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन,२०७८÷२०७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन,२०७८÷२०७९ र आदीबासी जनजाति आयोगको तेस्रो बार्षिक प्रतिवेदन, २०७८÷२०७९ सभासमक्ष पेश गर्नुभयो ।
यस्तै, बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक ,२०७९ लाई दफावार छलफलका विधायन व्यवस्थापन समितिमा पठाएको छ । सांसद् डा. बेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । यसअघि विशेष समयमा बोल्दै सांसद्हरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद्हरुले मिटर व्याजबाट पीडित नागरिकहरुका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा सांसद्हरुले शान्ति प्रक्रियाका बाँकी कामलाई संक्रमणकालिन न्यायको सिद्धान्तका आधारमा निरुपण गर्नुपर्ने धारणा राख्नुभयो । सांसद्हरुले बढ्दो महङ्गी नियन्त्रण , किसानहरुलाई मल र बीउ बिजनको व्यवस्था, सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकषर्ण गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक चैत २१ गते मंगलबार दिउँसो १ः०० बजे बस्ने छ ।