बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।
गत बुधवार विश्वासको मत लिने तयारी गरिएपनि नेपाली कांग्रेस सांसदहरु अनुपस्थित हुने भएपछि बैठक सारिएको थियो । पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनु भएको थियो । जसअनुसार एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितको उनले भारी मतसहित विश्वासको मत पाउनु भएको थियो । उहाँको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।
११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, नेकपा (एकीकृत समाजवादी) का ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।