मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने गरी आज बुधवार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसका सांसद अनुपस्थित भएका छन् । कांग्रेसका सांसद नआएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम स्थगित भएकाे छ । अब फेरि यही चैत १० गते विश्वासकाे मत लिने तयारी गरिएको छ ।
कांग्रेस र माओवादीकाे हानथापका कारण सरकारबाट बाहिरिने तयारी गरेको नेकपा एमालेले पनि आज बाहिरिएन । प्रदेश सभा बैठकमा सहभागी भएर एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सम्बाेधनकै क्रममा सरकारबाट बाहिरिने घोषणा गर्ने र पछि पत्र मुख्यमन्त्रीलाई बुझाउने तयारी थियो । कांग्रेसले एमालेले राजीनामा नदिएसम्म सरकारमा सहभागी नहुने बताइरहेको छ । कांग्रेस पार्टीभित्रको विवादपछि आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने औपचारिक कार्यक्रमसमेत स्थगित भएको हो ।
हेटौँडामा प्रदेश सभा बैठकका लागि बोलाइएको समयमा नै काठमाण्डौमा नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो । मुख्यमन्त्रीलाई विश्वासको मत दिने भए पनि समय अपुग भएकाले हेटौँडामा प्रदेश सभा बैठकमा आउन नसकिएको कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बताउनुभयाे ।
नेता लामाले नेतृत्वमा आलोपालोको सहमति नभएकाले आफूहरू अनुपस्थित भएको बताउनुभयाे । कुनै पनि सहमतिविना मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्दा पाँच वर्ष नै प्रदेश सरकारको नेतृत्व गर्न पाउने दाउमा जम्मकट्टेल हुनुहुन्छ ।‘दलका नेता लामाले मुख्यमन्त्री कट्टेललाई विश्वासको मत दिन कुनै दुविधा नभए पनि प्रदेश सरकारहरूको नेतृत्वको बारेमा सहमति नभएकाले स्थगित गर्नुपरेको बताउनुभयाे । उहाँले नयाँ समीकरणमा केन्द्रबाट कुन प्रदेश कसको भागमा पर्छ त्यहीअनुसार अगाडि बढ्ने बताउनुभयाे । नेता लामाले आज काठमाण्डाैमा प्रदेश सरकारको नेतृत्व कसले पहिला गर्ने भन्नेबारे छलफल गरेको जानकारी दिनुभयाे ।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो । गएको पुस २६ गते मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको चुनावसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिवार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनुभएको थियो । उहाँलाई छ दलका एक सय पाँच जना सांसदले विश्वासको मत दिएका थिए । गएकाे पुस २५ गते पाँच दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेललाई नेमकिपाका तीन जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।
एक सय १० जना सांसद रहेको प्रदेश सभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् । मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका तीन वटा दलका ६७ जना सांसदको समर्थन प्राप्त हुने देखिन्छ । उहाँले कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई जना सांसदको समर्थन पाउने देखिन्छ । राप्रपाका १३, नेमकिपाका तीन र एमालेका २७ जना सांसद मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा रहने देखिन्छ ।












