शहीद स्मारक ए डिभिजन लिगमा आज बुधवार भएकाे पहिलाे खेलमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएकाे छ । ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा एपीएफले आर्मीलाई १–० गाेल अन्तरले हरायाे । एपीएफका लागि खेलकाे ३७ औँ मिनेटमा मणि लामाले गाेल गरे ।
याे जितसँगै एपीएफले ४ खेलबाट ७ अङ्क जाेडेकाे छ । प्रतियाेगितामा पहिलो हार बेहाेरेकाे आर्मीको ४ खेलबाट ५ अङ्क छ । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।