हेटौँडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग कान्ति लोकपथ यही फागुन १८ देखि चैत १० गतेसम्म पूर्ण रूपमा बन्द हुने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले २३ दिनका लागि कान्ति लोकपथ बन्द गर्ने निर्णय गरेको हो ।
प्रजिअ पाण्डेले मर्मत सम्भारका लागि कान्ति लोकपथमा दुईतर्फी आवागमन बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो । कान्ति लोकपथ बन्द भएपछि सवारी सञ्चालनका लागि वैकल्पिक मार्गसमेत निर्धारण गरिएको छ । उहाँका अनुसार हेटौँडाबाट काठमाडौं जाने साना सवारीसाधनलाई हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट हुँदै एकतर्फी सञ्चालन गर्ने र काठमाडौंबाट हेटौँडा आउने सवारीसाधन थानकोट–चित्लाङ–मार्खु (कुलेखानी) –भीमफेदी हुँदै एकतर्फी सञ्चालन गर्ने निर्णय भएको छ।