हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको आसन्न निर्वाचनमा अध्यक्ष पदको लागि श्यामसुन्दर ढकालले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै ढकालले आफ्नो प्यानल घोषणा गरेका हुन् ।
ढकालको प्यानलको पदाधिकारीमा प्रथम उपाध्यक्ष सागर कटुवाल, द्वितीय उपाध्यक्ष बुद्धिराम डिम्डुङ, तृतीय उपाध्यक्ष भीमसेन श्रेष्ठ, महासचिव राजेन्द्र चौलागाईं, उपमहासचिव नीतिगत नवराज पाठक, उपमहासचिव आन्तरिक निर्मल देवकोटा, कोषाध्यक्ष अनल श्रेष्ठ, र सहकोषाध्यक्ष प्रकाश लामा ब्लोन रहेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै ढकालले आफ्नो अघिल्लो कार्यकालमा कोभिड १९ को कारणले निर्माण व्यवसायी क्षेत्रमा सोचे अनुसारको काम हुन नसकेको कारण पुनः काम गरेरै देखाउनको लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए । उनले यसअघि अघिल्लो कार्यकालमा अध्यक्ष पदमा सर्वसम्मत भएको र यसपटक पनि सर्वसम्मत गरेर अघि बढ्न खोजिएको तर सहमति नहुँदा निर्वाचनमा जान लागिएको बताए ।
ढकालले आफूलाई निर्माण व्यवसायीहरुको साथ र सहयोग रहेको दाबी गर्दै आफ्नो टिमको जित हुनेमा विश्वास व्यक्त गरे । भोलि शनिबार र आइतबार हुने संघको अधिवशेनले तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ । यसअघि १५ माघमा निर्माण व्यवसायी बालगोपाल कडेँलले संघको अध्यक्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।