हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले इमान्दारी पूर्वक काम गर्न एमाले सरकारमा गएको बताउनुभएको छ । मन्त्री थपलियाले जनताप्रति सधैं इमान्दारीताका साथ उत्तरदायी हुने बताउनुभयो ।
बिहीबारदेखि हेटौंडामा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै मन्त्री थपलियाले युवा संघले नेकपा एमालेका उम्मेद्बार जिताउन सधैं साथ दिएको स्मरण गर्नुभयो । जनताले बिश्वास गरेका कारण आफूहरुले चुनाव जितेर प्रदेश सरकारमा सामेल भएको बताउनुभयो ।
आफूहरुले राम्रो काम गर्ने प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयो –“युवा संघ र जनताको शीर नझुक्ने गरी जतिञ्जेल काम गर्न सक्छौं, काम गर्न पाइन्छ त्यतिञ्जेलसम्म इमान्दारीपूर्वक काम गर्नेछौं ।”
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री थपलियाले मंसिर ४ को चुनावले एमालेलाई ५ वर्ष धैर्य गर्न भनेको भएपनि परिस्थिति बदलिएकोले एमाले सरकारमा सामेल भएको धारणा राख्नुभयो । पार्टी अध्यक्ष राजनेता केपी शर्मा ओलीको सुझबुझपूर्ण निर्णयका कारण आफूहरु सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको भन्दै उहाँले शीर नझुकाइ सन्तुलनमा रहेर काम गर्ने बताउनुभयो । उहाँले आगामी ५ वर्षपछि हुने चुनावका लागि आजैदेखि तयारी थाल्न युवा संघलाई आग्रह गर्दै भन्नुभयो “२०८४ को चुनावका लागि आजैदेखि तयारीमा लाग्नुपर्छ, काठमाडौंमा बस्ने मात्र होइन, आफ्ना भूगोलहरुमा खट्नुपर्छ, हिँड्नुपर्छ, जनताका समस्या बुझेर निराकरण गर्न लाग्नुपर्छ ।”
युवा संघले एमालेका नीति, विचार र कामको प्रचारलाई ससक्त ढङ्गले अगाडि बढाउन सुझाव दिनुभयो ।
अबको एमालेको उत्तराधिकारी युवा संघ रहेको भन्दै उहाँले युवा संघले सोही अनुसार तयारी थाल्नुपर्ने बताउनुभयो । युवा संघ जनताको सारथी भएको भन्दै मन्त्री थपलियाले विदेशिएका युवालाई स्वदेशमै रोजगारीको व्यवस्था सृजना गर्ने व्यवस्थाका लागि सरकारले काम गर्ने भन्दै त्यसमा युवा संघले पनि पहल गर्नुपर्ने बताउनुभयो ।











