सरकारले यही वैशाख ३० गते (शुक्रवार) हुने स्थानीय तह निर्वाचन सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले सबै मतदान केन्द्रमा खोप केन्द्र राखेर कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिनुभयो ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता मिश्राले मतदान केन्द्रसँगै खोप केन्द्र पनि रहने भएकोले बुस्टर डोज नलगाएको भएमा मतदान गर्न जाँदा खोप कार्ड पनि लिएर जान आग्रह गर्नुभयो । उहाँले खोप कार्ड सम्भव नभएको खण्डमा परिचयपत्र वा अभिभावकले नाम र उमेर घोषणा गरेको परिचयपत्रका आधारमा खोप दिइने व्यवस्था गरिएको बताउनुभयो ।