हेटाैंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपालमा मनाइने चाड माघे/मकर संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्नु भएकाे छ । आइतबार एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलले माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा शुभकामना व्यक्त गर्नु भएकाे हाे ।
मुख्यमन्त्री जम्कट्टेलले शुभकामनामा भन्नु भएकाे छ ‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश विभिन्न सांस्कृतिक पर्व तथा चाडहरु हाम्रा सांस्कृतिक सम्पतिको रुपमा रहेका छन् । साथै यस किसिमका पर्वहरु हामी नेपालीहरुको अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचानका रुपमा स्थापित भएका छन्।’ विज्ञप्तीमार्फत उहाँले भन्नु भएकाे छ, ‘थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।’
‘नेपाल भित्र रहेका विभिन्न जातजाति र धर्मावलम्बीहरुका आ- आफ्नै सांस्कृतिक महत्वका मौलिक चाडपर्वहरु रहेका छन्। यी चाडपर्वहरुले हामी बिच सामाजिक एकता स्थापित गर्न सफल भएको अनुभूति गरेको छु’ उहाँले शुभकामना दिदै भन्नु भएकाे छ, ‘सबै जाति, भाषा, धर्म र समुदाय बिचको सामाजिक तथा राष्ट्रिय एकता सुदृढ गर्दै जनचाहना अनुरुप आर्थिक समृद्धिको दिशामा देशलाइ अघि बढाउनु आजको आवश्यकता हो । यस पर्वका अवसरमा बागमती प्रदेश भित्रका विभिन्न स्थानहरुमा लाग्ने मेला पर्व महोत्सव जस्ता संस्कृतिहरुको संरक्षण र विकास गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको छ ।’