काठमाडौँ । नेपाली कांग्रेस संसदीयले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पुस २६ गते नै टुङ्गो लगाउने निर्णय गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पुस २६ गते बिहान बस्ने बैठकले निर्णय गर्ने जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको प्रवक्ता समेत रहनुभएका सांसद डा.महतले प्रतिनिधिसभा सदस्यमा पार्टीका तर्फबाट निर्वाचित सांसदहरूलाई संसद्मा कसरी अगाडी बढ्ने लगायतका विषयमा आजको बैठकमा जानकारी गराइएको पनि बताउनुभयो । यस्तै, बैठकपछि नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले सरकारलाई विश्वासको मत दिने वा नदिने सम्बन्धमा सोही दिन नै नेपाली काँग्रेसले विगतमा पनि निर्णय गर्दै आएकाले संसदीय दलले पुस २६ गते त्यसको निर्णय लिने बताउनुभयो । यस पटकको निर्वाचनपछि नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी संसदीय दलको नेतामा निर्वाचित हुनुभएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट ८९ जना सांसद निर्वाचित हुनुभएको थियो ।