मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादबचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले बिहीबार ५ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आव्हान गर्नु भएको हो ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नुभएको हो । नयाँ सरकार गठनका लागि २०७९ साल पुस २५ गते सोमबार १६ः०० बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।
मुख्यमन्त्री नियुक्तिका लागि नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएकाले उपधारा (२) बमोजिम आह्वान गरिएको हो । ११० सदस्य बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद हुनुहुन्छ । सातवटा दलको प्रतिनिधित्व रहेको प्रदेशमा सरकार गठनका लागि ५६ जनाको समर्थन चाहिन्छ ।
केन्द्रमा भएको सत्ता समीकरण परिवर्तनले सबैभन्दा ठूलो दल भएर पनि कांग्रेससहितको सरकार बन्ने सम्भावना देखिदैन् । अब बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपासहितको सरकार गठनको तयारी भैरहेको छ । बागमती प्रदेशको मुख्यमन्त्रीमा तीनै दलका संसदीय दलका नेताहरु एमालेका जगन्नाथ थपलिया, माओवादी केन्द्रका शालिकराम जमकट्टेल र राप्रपाका उद्धब थापाले दाबी गर्नु भएको छ ।