हेटाैंडा– बीरगंजका ट्रान्सपोर्ट व्यवसायीहरुले आजबाट अनिश्चितकालिन रुपमा ढुवानी ठप्प पारेका छन् ।सरकारले ढुवानीका लागि भ्याटमा दर्ता तथा पान नम्बर लिएका ट्रक तथा कन्टेनरबाट मात्रै सामान ढुवानी गर्न निर्देशन दिएपछि ढुवानी व्यवसायिहरुले ट्रान्सपोर्ट व्यवसायिलाई ढुवानीवापत भ्याटमा दर्ता भएको सवारी साधन उपलब्ध नगराउँदा आजबाट बीरगंजबाट हुने ढुवानी ठप्प भएको ट्रान्सपोर्ट एशोसिएशन वीरगंज पर्साका सचिव नवराज अधिकारीले बताउनुभयो ।

वीरगंजबाट एक ट्रक सामान काठमाण्डौ पठाए वापत ढुवानी खर्च ३० देखि ३५ हजार सम्म लाग्ने र ढुवानी गरेवापत ट्रक साहुलाई ३० हजार, लोडिङ्ग अनलोडिङ्गका मजदुरलाई ३ हजार र बाँकी दुई हजार रुपैया आफ्नो अफिस सञ्चालनका लागि आफूहरुले लिने गरे पनि सरकारले ट्रान्सपोर्ट व्यवसायिहरुसँग ३५ हजारको भ्याट विल मागेपछि ढुवानी व्यवसायिले विल नदिदा बाध्य भई आफूहरु सामान बुकिङ्ग नगरेको बजरङ्गबली ट्रान्सपोर्ट आदर्शनगरका संचालक हरेन्द्र साह कानुले बताउनुभयो । उहाँले आफूहरु भ्याट तथा करको विरुद्धमा नभई ढुवानी गरे बापत ट्रक तथा कन्टेनरका साहुले आफूसँग लिएको पैसाको विल नदिदा समस्या भएको बताउनुभयो ।

ढुवानी व्यवसायी र आयात निर्यातकर्ता एवं व्यापारी बीच समन्वयको काम गर्ने ट्रान्सपोर्ट व्यवसायिहरु भ्याट तथा पानमा आए पनि ट्रक तथा कन्टेनर भ्याट तथा पानमा नआउँदा समस्या भएको ट्रान्सपोर्ट एशोसिएशनका सचिव नवराज अधिकारीले बताउनुभयो ।ट्रान्सपोर्ट मार्फत ढुवानी गर्दै आएका व्यवसायी तथा व्यापारीहरु ट्रान्सपोर्ट व्यवसायिहरुले आजबाट सामान बुकिङ्ग गर्न बन्द गरेपछि प्रभावित भएका छन् । आन्दोलनबाट सबैभन्दा बढी सानो परिणाममा सामान पठाउन तथा मगाउने व्यापारीहरु प्रभावित हुने देखिएको छ ।