मकवानपुर । कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित हुनु भएको छ । बुधबार बागमती प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार लामा दलको नेतामा निर्वाचित हुनु भएको हो ।
संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा इन्द्र बहादुर बानियाँलाई ५ मतले पराजित गर्नुहुँदै लामा संसदीय नेतामा चयन हुनुभएको कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले जानकारी दिनुभयो । मत परिणाम अनुसार पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका लामाले २१ मत प्राप्त गर्नुभएको छ भने, पार्टी प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले १६ मत प्राप्त गर्नुभयो । लामा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ (२) बाट र बानियाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो ।
काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि ३७ जना प्रदेश सभा सदस्यहरुले मतदान गर्नु भएको थियो । संसदीय दलको नेताको निर्वाचनकालागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी चुनाव गरिएको थियो ।