हेटौँडा । बागमती प्रदेशमा संसदीय दलको नेता र मुख्यमन्त्रीका लागि दलभित्र रस्साकस्सी सुरु भएको छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ बागमती प्रदेश सदस्यको नामावली सार्वजनिक गरेसँगै संसदीय दलको नेता बन्न प्रदेश सभा सदस्यहरूको जोड घटाउन सुरु भएको छ । समानुपातिक प्रणालीबाट ४४ र प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित गरी ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सातवटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ ।
सत्ता गठबन्धनमा रहेका दलहरूको सरकार बनाउन स्पष्ट बहुमत रहेकाले सत्ता गठबन्धनबाट निर्वाचित प्रदेश सभाका सदस्यहरू संसदीय दलको नेता बन्ने र बनाउने कसरतमा लागेका छन् । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सरकार निर्माण गर्न आवश्यक प्रदेश सभा सदस्य रहेकाले मूलतः कांग्रेस र माओवादी केन्द्रभित्र संसदीय दलको नेता को बन्ने र कसलाई बनाउने भन्नेमा बढी प्रतिस्पर्धा देखिएको छ ।
नेकपा एमालेमा पनि संसदीय दलको नेता बन्न दौडधुप सुरु भएको छ । तर, एमालेबाट केन्द्रीय सदस्य समेत रहेका जेएन थपलिया दलको नेता बन्ने संभावना बलियो छ । अरु सांसदहरुले पनि दलको नेता बन्नका लागि कसरथ सुरु गरेका छन् । २५ प्रत्यक्ष र १२ समानुपातिक प्रणालीबाट गरी ३७ प्रदेश सभा सदस्य रहेको कांग्रेसको यस प्रदेशमा संस्थापन पक्ष हाबी रहेको छ । संस्थापन पक्षबाटै संसदीय दलको नेता बन्न दुई जना प्रयासरत छन् । कांग्रेस केन्द्रीय सदस्य नुवाकोट जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ (ख)बाट निर्वाचित बहादुरसिंह लामा (तामाङ) र कांग्रेस बागमती प्रदेशका सभापति मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ (ख)बाट निर्वाचित इन्द्रबहादुर बानियाँ मुख्य प्रतिस्पर्धी देखिनुभएको छ ।
कांग्रेस केन्द्रीय सदस्य लामाले पार्टीमा लामो समयदेखि लाग्दै आए पनि आफूले अवसर नपाएकाले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको बताउनुहुन्छ । प्रदेश सभा सदस्य भएपछि मुख्यमन्त्रीमा दाबी गर्ने अरूको पनि इच्छा हुन्छ नै उहाँले भन्नुभयो, पार्टीका नेताले मुख्यमन्त्रीका लागि भनेकाले प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा नगरेर प्रदेशमा आएको हुँ । उता प्रदेश सभाको अघिल्लो कार्यकालमा पनि मुख्यमन्त्रीको दाबी गर्नुभएका प्रदेश सभापति बानियाँले प्रदेश सभापति भएका कारण यो पटक संसदीय दलमा आफ्नो दाबीलाई स्वाभाविक हो भन्नुहुन्छ ।
प्रदेश सभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता रहनुभएका बानियाँ यसअघि संविधान सभा सदस्य हुँदै सङ्घीय सरकारको गृह र पर्यटन राज्यमन्त्री भइसक्नुभएको छ । अघिल्लो कार्यकालमा अल्पमतमा परेर एमाले सत्ताबाट बाहिरिएपछि सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी र कांग्रेसबीच बानियाँलाई आधा कार्यकाल मुख्यमन्त्री दिने सहमति भए पनि केन्द्रका कारण देखाउँदै कार्यान्वयन भएको थिएन । तर, यो पटक संसदीय दलको नेता र मुख्यमन्त्री आफूले पाउनुपर्ने र दलभित्र सहमति हुने बानियाँले सार्वजनिक रूपमा बताउँदै आउनुभएको छ ।
यस्तै सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रमा पनि प्रदेश संसदीय दलको नेतामा चार जनाको नाम चर्चामा रहेको छ । १४ जना प्रत्यक्ष र सात जना समानुपातिक प्रणालीबाट निर्वाचित गरी २१ जना प्रदेश सभा सदस्य रहेको माओवादी केन्द्रमा सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलसहितका नेता संसदीय दलको नेता बन्न प्रयासरत हुनुहुन्छ ।
बागमती प्रदेश सरकारको दोस्रो वरीयतामा रहनुभएका धादिङबाट निर्वाचित शालिकराम जम्कट्टेल, माओवादी केन्द्रको चुनाव चिह्न लिएर सिन्धुलीबाट निर्वाचित गङ्गानारायण श्रेष्ठ र प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल संसदीय दलको नेतामा आकाङ्क्षी हुनुहुन्छ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष रहनुभएका श्रेष्ठ डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्नुपूर्व माओवादी केन्द्रको नेता हुनुहुन्थ्यो । माओवादी केन्द्रका पौडेल आफू पार्टीको प्रदेश अध्यक्ष भएकाले संसदीय दलको नेतामा दाबी प्राकृतिक भएको बताउनुहुन्छ । उहाँले अरूले पनि संसदीय दलको नेतामा दाबी गर्नु स्वाभाविक भएको बताउँदै केन्द्रसँगको समन्वयसँगै पुस ५–६ गते पार्टीको बैठक बस्ने र टुङ्गो लगाउने बताउनुभयो । प्रदेश अध्यक्ष पौडेलले भन्नुभयो, स्वस्थ र तनावरहित ढङ्गले संसदीय दलको नेता चयन हुन्छ ।
अघिल्लो प्रदेश सभामा पार्टी विभाजनपूर्व सरकार गठनका लागि एकल बहुमत रहेको एमालेमा संसदीय दलको नेताका लागि चितवनबाट निर्वाचित जगन्नाथ थपलियाको नाम चर्चामा छ । निर्वाचनपूर्व मुख्यमन्त्रीको दाबी गर्दै आएका निवर्तमान प्रदेश सभामुख सानुकुमार श्रेष्ठ प्रदेश सभा सदस्यमा नै काठमाडौँबाट पराजित बन्नुभयो । एमालेका प्रत्यक्षबाट १३ र समानुपातिकबाट १४ गरी २७ प्रदेश सभा सदस्य रहेका छन् ।
यसैगरी पाँच जना प्रत्यक्षबाट र दुई जना समानुपातिकबाट प्रदेश सभा सदस्य निर्वाचित भएको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल आकाङ्क्षी रहनुभएको छ । उहाँले प्रदेशमा संसदीय दलको नेतामा आफ्नो सम्भावना रहेको बताउनुभयो । प्रत्यक्षमा सात र समानुपातिकतर्फ छ जना प्रदेश सभा सदस्य रहेको यस प्रदेशको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा संसदीय दलको नेताका लागि चर्चा सुरु भएको छैन । राप्रपा नेत्री एवं बागमती प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य रीना गुरुङले पार्टीको केन्द्रीय निर्णय र नीति आएपछि संसदीय दलको नेता चयन प्रक्रिया थाल्ने बताउनुभयो । प्रदेश सभामा नेपाल मजदुर पार्टीको एक जना प्रत्यक्षबाट निर्वाचित र दुई समानुपातिकतर्फका गरी तीन जना र हाम्रो नेपाली पार्टीको प्रत्यक्ष प्रणाली र समानुपातिक प्रणालीबाट एक/एक जना गरी दुई जना प्रदेश सभा सदस्य रहेका छन् । गाेरखापत्रबाट ।