मकवानपुर– मकवानपुरको बिकट कैलाश गाउँपालिकामा बुधबार देखि दोस्रो कृषि मेला प्रदर्शनी–२०७६ सुरु भएको छ । स्थानीय कृषि उत्पादनको प्रबद्र्धन एवम् प्रचार प्रसारको उदेश्यका साथ गाउँपालिकाले दोस्रो पटक कृषि मेला प्रदर्शनी आयोजना गरेको हो ।

कैलाश–७ मा हरेक वर्ष लाग्ने स्यार्से कालिकामाई मेलाको अवसर पारेर गाउँपालिकाले कृषि मेला प्रदर्शनी आयोजना गर्ने गरेको छ । आज गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गर्नुभएको हो । मेलाको उद्घाटन गर्दै अध्यक्ष मोक्तानले मेलाले स्थानीय उत्पादनको प्रबद्र्धनमा सहयोग पुगेको बताउनुभएको छ । अध्यक्ष मौक्तानले किशानले उत्पादन गरेका कृषि जन्य वस्तुको बजारीकरण र प्रचार प्रसार गर्न तथा कृषकलाई उत्प्रेरण थप्न मेलाले सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । गाउँपालिकाका सबै क्षेत्रमा पुग्न अझै सडक सञ्जालको अभाव रहेको भन्दै गाउँमा उत्पादन हुने वस्तुको प्रचार प्रसार गर्न मेलाको भरपुर उपयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

कैलाश गाउँपालिकाले गत वर्ष देखि कृषि प्रबद्धन एवम् प्रचार प्रसार गर्ने तथा किशानलाई प्रोत्साहन गर्ने उदेश्यका साथ मेलाको आयोजना गर्न सुरु गरेको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । मेलामा स्थानीय उत्पादनलाई विशेष प्राथमिक्ता दिईएको समेत उहाँले बताउनुभएको छ । मेलामा उत्कृष्ट कृषकलाई गाउँपालिकाले पुरस्कारको समेत व्इवस्था गरेको उहाँले जानकारी दिनुभएको छ । मेला भोली सम्म आयोजना हुने एवम् शुक्रबार मेलामा उत्कृष्ट कृषकलाई पुरस्कार वितरण गरिने अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।