मकवानपुर – दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको मकवानपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र–१ को (ख) मा नेकपा एमाले र क्षेत्र–२(ख) मा नेपाली कांग्रेस विजयी भएको छ । बुधबार साँझ सम्पन्न मतगणना अनुसार क्षेत्र–१ को (ख) मा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ र क्षेत्र–२(ख) मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानीयाँ विजयी हुनु भएको हो ।
क्षेत्र–१ को (ख) मा एमालेका उम्मेदवार एकालाल श्रेष्ठले गठबन्धनका उम्मेवार नेपाली काँग्रेसका नेता आनन्दाराम पराजुलीलाई पराजित गर्नु भएको हो । श्रेष्ठले १४ हजार २२५ मतसहित गठबन्धनका उम्मेवार पराजुलीलाई ८६९ मतान्तरले पराजित गर्नु भएको हो । पराजुलीले जम्मा १३ हजार ३५६ मत प्राप्त गर्नुभएको थियो । यस क्षत्रमा प्रतिष्पर्धामा उत्रनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका गुञ्जन न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गर्नुभयो । क्षेत्र–१ को (ख) मा कुल ४३ हजार ३५६ मत खसेकोमा १ हजार ५०६ मत बदर भएको थियो । यस क्षेत्रबाट २०७४ को निर्वाचनमा बागमती प्रदेश सरकारका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जीत हासिल गर्नु भएको थियो ।
त्यस्तै मकवानपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर–२(ख) मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँ विजयी हुनु भएको छ । नेकपा एमाले मकवानपुरका उपाध्यक्ष समेत रहनु भएका लालबहादुर थापालाई १ हजार ७८२ मतअन्तरले पराजित गर्दै बानियाँ बिजयी हुनु भएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहनु भएका बानियाँले १८ हजार ७१६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्दी थापाले १६ हजार ९३४ मत प्राप्त गर्नुभयो । क्षेत्र नम्बर–२(ख) मा कूल ४० हजार ५९९ मत खसेकोमा १ हजार ४४९ मत बदर थियो । बानियाँ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।











