मकवानपुर / प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब तीन दिन बाँकी छ । जसका लागि ठूला र साना राजनीतिक दलदेखि स्वतन्त्रहरू मैदानमा छन् । ४ मंसिर आइतबार हुने निर्वाचनका लागि मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा १० जना उम्मेदवार मैदानमा छन् । जसमध्ये गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा, एमालेबाट महेशकुमार बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुलीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
खतिवडा, बर्तौला र पराजुली २ नम्बर क्षेत्रका लागि परिचित अनुहार हुन् । २ नम्बर क्षेत्रबाटै विरोध खतिवडाले चार पटक निर्वाचन जितिसकेका छन् । खतिवडा यस्ता राजनीतिक खेलाडी हुन्, जसले उठेका सबै निर्वाचन जितेका छन् । माओवादी केन्द्रको प्रभाव रहेका बेला २०६४ र २०७० को संविधानसभा निर्वाचनमा भने खतिवडाले पार्टीबाटै टिकट पाएनन् । २ क्षेत्रकै नामटारमा जन्मिएका बर्तौला मकवानपुरको विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन् ।
एमाले बागमती प्रदेश कमिटीका उपमहासचिवसमेत रहेका बर्तौलालाई एमालेले खतिवडाविरुद्ध उठाएको हो । अर्का प्रतिद्वन्द्वी पराजुली ३३ वर्ष लामो कांग्रेसको राजनीति त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका हुन् । पार्टीभित्र गुटबन्दीले अवसरबाट वञ्चित हुँदै आएका उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएर प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।पराजुलीको २ नम्बर क्षेत्रकै धेरै मतदाता रहेको मनहरी गाउँपालिकामा राम्रो प्रभाव छ । मनहरीका स्थायी बासिन्दासमेत रहेका पराजुलीलाई शालिन र भद्र नेताका रूपमा चिनिन्छ । आगामी निर्वाचनमा पराजुलीले ल्याएको मत नै गठबन्धनका खतिवडाको अपराजित यात्रा रोकिने र बर्तौला जित्न सक्ने आकलन पनि गरिएको छ ।
गत स्थानीय तह निर्वाचनमा खतिवडाको पार्टी एकीककृत समाजवादीले पाएको मत २ हजार ७ सय १९ हो । कांग्रेसले २ नम्बर क्षेत्रभित्रका वडास्तरमा ३४ हजार २ सय ४०, माओवादी केन्द्रले २२ हजार ६ सय ७ र राष्ट्रिय जनमोर्चाको ४ सय ६४ भोट खसेको थियो । यसअनुसार गठबन्धनको मत ६० हजार ३० छ । अर्थात् गठबन्धनलाई मानेर सिधा हेर्दा खतिवडासँग ६० हजार बढी मत छ । तर, उनलाई जितका लागि गठबन्धनका कांग्रेस र माओवादी केन्द्रको मत अपरिहार्य छ ।
कांग्रेसको मात्रै मत तलमाथि हुन गए खतिवडा खतरामा पर्ने देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीले कांग्रेसकै मत चोरे भने पनि खतिवडालाई जित निकाल्न अप्ठ्यारो पर्ने विश्लेषण छ । ‘पराजुलीले ३३ वर्ष कांग्रेसमा राजनीति गर्नुभयो । कांग्रेस मकवानपुरको पुरानो नेता हो उहाँ । अब उहाँले कांग्रेसको मत चोर्न सक्नु हुन्न कसरी भनौँ,’ राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य राममणि न्यौपानेले भने । उनले पराजुलीले कांग्रेसको मत काट्ने मात्रै नभई निर्वाचन नै जित्ने दाबीसमेत गरे ।
कांग्रेसको मत पराजुलीले तानेमा खतिवडालाई खतरा हुने देखिन्छ । पराजुलीले कांग्रेसको धेरै मत अफ्नो पक्षमा ल्याउने आकलन गरिएको छ । कांग्रेसको ठूलो मत रहेको मनहरीबाटै पराजुली उठेकाले खतिवडालाई संकट बढी देखिएको हो । २ नम्बर क्षेत्रमा गठबन्धनभित्र खटपट रहेको घटनाले पनि खतिवडालाई थप क्षति हुने देखिन्छ । माओवादीभित्रै असन्तुष्ट रहेकाले उनलाई संकट पर्ने देखिएको विश्लेषण भइरहेको छ । २ नम्बर क्षेत्रमा हेटौँडा उपमहानगरपालिकाको १, ३, ११, १९ नम्बर वडा, मकवानपुरगढी गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडा, थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोबर र भीमफेदी गाउँपालिका पर्दछ ।
एमालेले वडास्तरमा ३६ हजार ८ सय ६६ भोट ल्याएको थियो । स्थानीय तह चुनावमा उम्मेदवार नउठाएकाले एमालेसँग मकवानपुरमा गठबन्धन गरेको राप्रपा नेपालको भोट कति छ भन्ने स्पष्ट छैन । राप्रपा नेपालले बर्तौलालाई सहयोग गरेको छ । स्थानीय तह चुनावको मतपरिणामलाई हेर्दा बर्तौलालाई चुनाव जित्न करिब २३ हजार थप मत आफूतिर तान्नुपर्ने देखिन्छ । बर्तौलाले मतान्तरका कारण आफूलाई चुनाव जित्न अप्ठ्यारो नभएको बताउँछन् । वर्षौंदेखि खतिवडालाई जिताइरहेका जनताले यसपालि युवालाई जिताउने अठोट लिएको उनले शिलापत्रसँग दाबी गरे । ‘म यस क्षेत्रकै स्थानीय उम्मेदवार हो । खतिवडाजी हेटौँडामा घर भएर यहाँ चुनाव उठ्न आउनु भएको छ । जनताले स्थानीयलाई नै जिताउनुपर्छ । यसपटक युवा नै रोज्नुपर्छ भनिरहनुभएकाले मैले निर्वाचन जित्ने अवस्था देख्छु,’ बर्तौलाले भने । अनेरास्ववियु र पार्टीमा राजनीति गरिरहेका बर्तौला पहिलो पटक निर्वाचन लडिरहेका छन् । विश्लेषण गरेजसो राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीले गठबन्धनको भोट काटेमा बर्तौलाको पहिलो जित हुने देखिन्छ । तर, खतिवडासँगको मतान्तर धेरै रहेकाले बर्तौलालाई जित निकाल्न सहज भने छैन ।
चुनावी सभामा खतिवडाले आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँदै आएका छन् । खतिवडाले मकवानपुरबाट २०४८, २०५१, २०५६ र २०७४ मा गरी चारपटक प्रत्यक्ष निर्वाचन जितिसकेका छन् । उनले २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभाको चुनावमा भने टिकट पाएका थिएनन् । शिलापत्रबाट साभार ।