मकवानपुर । मकवनपुरका तीन स्थानीय तहले आज देखी मादक पदार्थ तथा सुर्तीजन्य पदार्थहरूमा प्रतिबन्ध लगाउने भएका छन् । जिल्लाको हेटौडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, र बकैयाँ गाँउपालिकाले आज देखी मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ निषेध गर्न लागेको हो ।
बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडा उपमहानगरपालिकाले आजदेखी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने जनाएको छ । सरकारले जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनलाई टेकेर उपमहानगरपालिकाले २०७७ मा बनाएको निर्देशिकाका आधारमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी गरेको उपमहानगरपालिकाले जनाएको छ । ‘सार्वजनिकस्थलहरू जस्तै विद्यालय, सरकारी कार्यालय, अस्पताल जस्ता क्षेत्रको एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउने हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले बताउनुभयो । उहाँले निर्देशन नमान्ने जोकोहीलाई २५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने जानकारी दिनु भयो । होटेल तथा रेस्टुरेन्टहरूमा समेत छुट्टै स्मोकिङ जोनको व्यवस्था गर्न पत्राचार गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
त्यस्तै जिल्लाको मनहरी गाँउपालिकाले पनि मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको गाँउपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनु भयो । पालिकाले नीति तथा कार्यक्रममै मनहरी क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको उहाँले बताउनुभयो । मानवीय स्वास्थ्यलाई हानी र्पुयाउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष कालाखेतीले बताउनु भयो ।
त्यस्तै जिल्लाको बकैया गाउँपालिकाले पनि सूचना जारी गरेर पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागुऔषध सहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लागुपदार्थमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले नै निर्णय गरेर सूचना जारी गरेको बताउनुभयो । पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरिएको उहाँले बताउनु भयो । सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था गरेको छ ।