हेटौंडा – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले घरदैलो कार्यक्रम जारी राखेको छ । जस अन्तरगत साेमबार मकवानपुर क्षेत्र नम्बर– १ काे हेटौंडा उपमहानगरपालिका ५ को विभिन्न टोलमा घर घर पुगेर उम्मेद्बारले मत मागेका छन् ।
मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापा र क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठ गत कात्तिक १७ गतेबाट नै चुनावी सभा र घरदैलोमा मत माग्न ब्यस्त रहनुभएको छ । सोमबार हेटौंडा ५ को सिंचाईकुना(दक्षिणकाली(राईटोल,ढुङ्गेधारा,नवीन टोल,मास्टरचोक,वनदेवि टोललगायत स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो । घरदैलो कार्यक्रममा स्थानीयहरुले ढल निकासको समस्या, सडक स्तरीकरण नहुदाको समस्या राखेका थिए । यसैगरी देशको प्रमुख जनशक्ति युवाहरुको बिदेश पलायनलाई रोक्न स्थानीयको माग थियो । साे क्रममा जनचाहनाअनुसार काम गर्ने उम्मेद्बार कमल थापा र एकालाल श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ ।
मकवानपुर क्षेत्र नम्बर १ मा बकैया गाउँ पालिका, बागमती गाउँपालिका, मकवानपुर गढी गाउँपालिकाका १,२,३ र ४ नम्बर वडा तथा हेटौंडा उपमहानगरपालिकाको २,४,५,६,७,८,९,१०,१२,१३,१४, १५, १६, १७ र १८ नम्बर वडा पर्छ । त्यस्तै क्षेत्र नम्बर १ (ख) मा हेटौंडा उपमहानगरपालिकाको २,४,५,६,७,८,९,१०,१२,१३,१४ र १५ नम्बर वडा पर्छ । समानुपातिक उम्मेद्बार भारती पाठक, थापा र श्रेष्ठको संयुक्त उपस्थितिमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको निर्बाचन परिचालन कमिटीले जनाएको छ । यसैबीच मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले हटलाईन नम्बर संचालनमा ल्याउनुभएको छ । उहाँले चुनावी अभियानको बारेमा आबश्यक जानकारी, जिज्ञासा, धारणा एवं सल्लाह, सुझाब र गुनासोको लागि ९८५११४८२८८ नम्बर संचालनमा ल्याउनुभएको हो ।