पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए ।
गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक सङ्कट थप चुलिएको छ ।पूर्व सूचनामन्त्री फवाद चौधरीले कुरा गर्दै खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गरे। एक स्थानीय टिभी च्यानलले उनलाई निलो रङ्गको अस्पतालको गाउन लगाएर लाहोरस्थित एक क्लिनिकबाट ह्वीलचेयरमा निस्कँदै गरेको देखाएको थियो । पूर्वी शहर वजीराबादमा बिहीबार राजनीतिक दलको प्रदर्शनको नेतृत्व गरिरहेका ७० वर्षीय खानमाथि उनी चढेको ‘कन्टेनर ट्रक’लाई लक्षित गरी गोली चलाउँदा घाइते भएका थिए ।
आक्रमणमा सम्लग्न भएको आरोपमा एक व्यक्ति हिरासतमा लिइएको छ। सरकारी अधिकारीहरूले आक्रमणलाई ‘एक्लो बन्दुकधारीको काम र धार्मिक अतिवादको एकदम स्पष्ट मामला’ भनेका छन् । प्रहरीले सञ्चारमाध्यममा सार्वजनिक गरेको भिडियोमा एक मात्र संदिग्धले खानको प्रदर्शनले प्रार्थनाको आह्वानमा बाधा पुर्‍याएको कारण खानलाई मार्ने प्रयास गरेको बताएका छन् । खानले भने घटनामा दुई जना बन्दूकधारीको सम्लग्नता रहेको दाबी गरेका छन् । शुक्रबार अस्पतालबाट पत्रकारसँग कुरा गर्दै उनले घटनाको पछाडि सरिफ, गृहमन्त्री राना सनौल्ला र एक वरिष्ठ गुप्तचर अधिकारीको सम्लग्नता रहेको दाबी पनि गरेका थिए ।